Epilepsy

Epilepsy / छारे रोग / मिर्गी


मस्तिष्कमा अचानक असमान्य र अत्यधिक बिधुतीय तरंग उत्पन्न भएर पटक पटक छोपी राख्ने अवस्थालाई छारे रोग  (Epilepsy) भन्निछ । हरेक पल्टको छोपाईलाई छोप्ने व्यथा (Seizure) भनिन्छ ।

भ्रम
समाजमा छारे रोग सम्बन्धी विभिन्न भ्रमहरु विद्यमान छन् । जस्तै  यो भूतप्रेत, देवी देवताको असर हो, यो सरुवा रोग हो, सगै बस्नाले, खानाले सर्दछ, यो पूर्ण आनुवंशिक रोग हो अर्थात आमा–बुवालाई छारे रोग भएको खण्डमा छोरा छोरीमा अवश्य हुने सम्भावना हुन्छ । छारेको व्यथा उत्पन्न हुदाँ, बिरामीको नाक–मुख थुन्नाले, गन्हाउने कुरा सुँघाउनाले यो ठीक भई हाल्छ । फलस्वरुप यो रोग लागेका मान्छेहरु समयमा संबन्धित विशेषज्ञ–चिकित्सक सँग परामर्श र उपचार नगराई झार–फूक, पूजा पाठमा लाग्दछन र ज्यान समेत गुमाउन बाध्य हुन्छन् ।

………………….


छारेरोग लागेको कसरी थाहा पाउन सकिन्छ ? / छारे व्यथाको प्रकार


  • अचानक मान्छे बेहोश हुनु र दाँत किटकिटाउनु, आँखा माथितिर वा एक साइडमा फर्काउनु, मुखबाट फिज आउनु, जिब्रो टोक्नु हातखुट्टा कडा हुनु र काम्नु, दिशा पिशाब छुट्नु एक प्रमुख प्रकारको छोप्ने व्यथा (Convulsive Seizure) हो । यस्तो घटना प्राय १–२ मिनेट सम्म रहन्छ । त्यसपछि मान्छे केही बेर बेहोश रही रहन्छ र होशमा आएपनि केही घन्टा टाउको दुखी राख्ने वा भारी भई राख्ने हुन्छ ।
  • त्यस्तै एक साइड (हातखुट्ट) मात्रै हल्लिने; एक साइड एकै छिन केही सेकेण्ड झमझमाउनु, पोल्नु, दुख्नु वा आफूलाई नै थाहा नभईकन एकै प्रकारको काम पटक पटक दोहोराईराख्नु (जस्तै एक छिन बोल्नु, सर्टको बटन लगाएको जस्तो गर्नु आदि) जस्को सम्झना पछि नहुनु, केही अन्य प्रकारका छोप्ने व्यथाहरु हुनु।

………………….


छारेरोगको कारण


सामान्यतया छारेरोग दुई फरक कारणले हुन्छ ।
१. संरचनात्मक (Structural):– जुनकि मस्तिष्कको CT Scan वा MRI गर्दा देखिन्छन् । यस्ता कारण हरु ४०–५०५ छारे रोगीमा भेटिन्छन् । जस्तै :– टाउकोमा जुकाको फूल हुनु (NCC), मस्तिष्कघात भएको हुनु, ब्रेन ट्यूमर , मस्तिष्कमा पहिले चोटपटक लागेको हुनु वा मस्तिष्कमा जन्मै देखि बनावटी बिकृति हुनु ।
२. रसायनिक असन्तुलन (Chemical Imbalance):- बाँकी ५०–६०५ छारेरोगीमा मस्तिष्कको विभिन्न रसायनमा असन्तुलन भएर छारेको व्यथा उत्पन्न भएको हुन्छ । यो समस्या जेनेटिक कारणले हुन्छ र केही मान्छेमा बंशानुगत (Hereditary)  पनि हुन सक्छ । यसको पत्ता लगाउनु अत्यन्त कठिन छ । यो प्रायः जसो गरिने परिक्षणमा देखिदैन् ।
नोट :– कारण भएका छारेरोगको कारणलाई निर्मूल पार्नु छारेरोगको सम्पूर्ण (Definitive) उपचारको लागि सबभन्दा महत्वपूर्ण कुरा हो ।

………………….


छारेरोगको परिणाम


१. अकाल मृत्युः– छारे रोगको पूर्ण नियन्त्रण नभएमा केही रोगीको अकाल मृत्यु, छारे रोगको व्यथा आफै (Sudden death in epilepsy) वा दुर्घटना वा चोटपटक लागेर हुन सक्दछ ।
२. दुर्घटना वा चोटपटक :– छारेरोग नियन्त्रण नभएमा रोगीहरु विभिन्न खालका सवारी वा अन्य दुर्घटना वा चोटपटकको शिकार हुन सक्छन् ।
३. मस्तिष्कको बौद्धिकतामा (Intellectual or Cognitive Function) हस :– छारेरोग धेरै पटक दोहोरिएमा, मस्ष्तिकका कोशिकाहरुको क्षति भएर मान्छेको सम्झिने शक्ति वा पेशागत बौद्धिकतामा ह्रास आउने सम्भावना हुन्छ ।

………………….


नेपालमा छोरेरोगको अवस्था


हरेक १०० जनामा करीब १ जनालाई छारेरोगको समस्या छ अर्थात नेपालमा करीब २.५ देखि ३ लाख सम्मका छारे रोगका बिरामी छन् । ती मध्ये एक चौथाई मात्रै कुनै न कुनै रुपमा चिकित्सकसंगको परामर्शमा उपाचार गराउदै छन् भने, तीन चौथाई (७५–८० प्रतिशत) बिरामीहरु अहिले पनि चिकित्सकहको उपाचारबाट बञ्चित छन् । ती मध्ये केही मान्छे विभिन्न अन्धबिश्वासहरुको शिकार भइ रहेका छन् । यसको सफल उपचार विभिन्न स्तरका स्वास्थ्यकर्मीहरु (जसले छारेरोग सम्बन्धि तालिमप्राप्त गरेका छन्) बाट सम्भब हुन सक्छ तर केही बिशेष परिस्थितिमा (छारेरोग नियन्त्रित नहुँदा औषधिको केही नकारात्मक असर परेमा) पठाईदिने प्रचलन (Referral System)  हुनु पर्दछ  ।

………………….


छारेरोग बिशेषज्ञ भनेको के हो ?


हुनत दक्षता हासिल गरेका जुनसुकै स्तरका स्वास्थ्यकर्मी, चिकित्सकहरुबाट यसको उपचार सम्भव छ तैपनि छारेरोग विशेषज्ञ भनेको डी.एम. न्यूरोलोजी, एम.डी पछि न्यूरोलोजी फेलोशिप, पि.एच.डी न्यूरोलोजी गरेका चिकित्सकहरु बुझिन्छन् ।

………………….


छारेरोग सफल उपचार


(१) जनचेतना (Awareness):– “छारेरोग एक प्रकारको रोग हो अरु केही होइन” भन्ने जनमानसले बुझनु सवभन्दा प्रमुख कडी हो । तसर्थ यस रोगको बारेमा चेतना भएका चिकित्सक, पेशागत व्यक्तिहरु, संघ–संस्थाहरु, संचार माध्यमहरु, सरकारी तथा गैरसरकारी निकायहरुले बिभिन्न तवरबाट जस्तै– सभा–गोष्ठी,तालिम, बिभिन्न मिडियामा (रेडियो, टेलिभिजन वा इन्टरनेट) बिज्ञापन इत्यादि द्धारा जनमानसमा यसको चेतना अभिबृद्धि गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।

(२) छारेरोगको सही पहिचान(Correct Diagnosis ):– छारेरोग जस्तै अरु नशाका रोगहरु पनि हुन्छन् । ती मध्येबाट छारेरोगको समयमै सही पहिचान हुनु यसको सफल उपचारको लागि अत्यन्त जरुरी छ ।

(३) छारेरोग विशेषज्ञको उपलब्धता (Avaibility of Neurologist):– छारेरोग विशेषज्ञको संख्या देशमा अत्यन्त न्यून छ । जसले गर्दा हरेक बिरामीको छारेरोग विशेषज्ञबाट नै उपचार संभव छैन । तसर्थ बिभिन्न स्तरका स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई छारे रोग सम्बन्धी विभिन्न तालिम उपलब्ध गराई यो विषयमा अरु दक्ष जनशक्ति निर्माण गर्नु बिभिन्न सचेत र सम्बन्धीत विशेषज्ञ संघ–संस्था र सरकारी निकायको प्रमुख दायित्व हो ।

हिमोरेजिक मस्ष्तिकघात :– हिमोरेजिक मस्ष्तिकघात लागेको बिरामीहरुमा औषधि द्धारा रक्तचाप नियन्त्रण र रगत पातलोपनाको उपचार तथा

(४) पठाईदिने प्रणाली (Referral System):– छारे रोगको बिरामीको जुन सुकै छारेरोग संबन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकबाट भएपनि , बिशेष परिस्थितिमा जस्तै– छारेरोग नियन्त्रण नभएमा, छारेरोगको पहिचान संभव नभएमा, औषधिको नकारात्मक असर देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्शको लागि पठाईदिने प्रचलन (Referral System) छारे रोगको उपचारका लागि अपरिहार्य हुन जान्छ ।

………………….


छारेरोगको उपचार बिधि


(१) पहिचानः– यसको पहिचान प्रायः क्लिनिकल (Clinical):–

(क) हिस्ट्री (History) – बिरामीमा भएको घटनाक्रमको विवरण र
(ख) परिक्षण(Examination):–बिरामीको जाँच बाट सम्भब भएको हुन्छ । मस्तिष्कको MRI/CT  वा EEG यसमा मद्धत गर्दछ ।

(२) कारण पत्ता लगाउनुः– बिभिन्न रगत र पिशाबको परिक्षण, मस्तिष्कको CT/MRI, EEG इत्यादि बाट ४०–५०५ बिरामीमा कारण पत्ता लाग्दछ ।

(३) उपचारका सिद्धान्तः–
(क) छारेको नियन्त्रणः– औषधिद्धारा वा शल्यक्रियाद्धारा (जहाँ औषधि मात्रले नियन्त्रण गर्न गाह्रो छ) ।
(ख) छारे रोगको पूर्ण (Definitive) उपचारः– पूर्ण उपचार भनेको यसको कारणको उपचार हो । तसर्थ यसको कारण पत्ता लगाउनु महत्वपूर्ण हुन जान्छ ।

औषधि उपचार

(क) छारेरोग सहि पहिचान
(ख) औषधि चलाउने कि नचलाउने निर्णय
(ग) औषधिको चयन
(घ) औषधिको संख्या र प्रयोग अवधिको निर्णय

  • औषधि फेर्ने कारण र तरिका
  • औषधिको शुरुवात गर्ने तरिका
  • अरु औषधि थप्ने कारण र तरीका

जीवनशैली परिवर्तन

(क) गर्न नहुने कुराहरु अर्थात परिस्थिति जस्ले छारेको व्यथा हुने सम्भावना बढाँउदछ । जस्तैः अनिन्द्रा, धेरैबेर भोको पेट, तनाब, अत्यधिक चम्कीने प्रकाश, अत्यधिक श्वासप्रश्वास बढाउने शारीरिक व्यायाम वा काम, मदिरा सेवन
(ख) केही परिस्थितिहरुबाट जोगिनु पर्छ जहां छारे व्यथा भएमा ज्यान जाने जोखिम वा अंगभंग हुने जोखिम बढाउँदछ
जस्तैः आगो नजिक ,अत्यधिक उचाई भएको स्थान, गहिरो पानी, भारी मेशिनहरु, गाडी संचालन जस्तै चलाउन वा मोटरसाईकलको पछाडी सिटमा बस्न समेत धातक हुन्छ ।

किटोजेनिक डाइट (Ketogenic Diet):
एक बिशेष प्रकारको खाना हो जहाँ कार्वोहाइडेट, प्रोटिन र बोसोको मात्रा परिवर्तित गरेर तयार गरिन्छ । जस्ले जिउमा किटोनको मात्रा बढाँउदछ । किटोनले दिमागको उत्तेजित अवस्थालाई शान्त पारि छारेरोगलाई नियन्त्रित गर्न मद्धत गर्दछ ।यो प्रायः औषधिहरु मात्रैले छारे रोग नियन्त्रित नभएको अवस्थामा मात्र औषधि संगसंगै प्रयोग गरिन्छ । यो केही बिशेष प्रकारका छारेरोगमा एक्लै वा औषधिसंग प्रयोग गर्दा धेरै नै प्रभावकारी हुन्छ।

………………….


छारेरोगीमा छारेको व्यथा (Seizure) भएमा देख्ने मान्छेले के गर्नु पर्छ ? (First Aid)


  • वरिपरिको दुर्घटना गराउने सामान हटाई दिनु पर्छ ।
  • घाँटी वरिपरि कसिने खालको लुगा छ भने हटाउनु वा खुकुलो पार्नु पर्छ ।
  • हल्लिन छोडे पछि विरामीलाई कोल्टो फर्काएर राख्नु पर्दछ ।
  • हल्लिने प्रक्रिया धेरै बेर भएमा ( ५ मिनेट भन्दा बढि), बारम्बार दोहोरिएमा, हल्लिएपछिको बेहोशीको अवस्था लम्बिएमा तुरुन्त अस्पतालको आकस्मिक कक्ष (Emergency)  मा लैजानु पर्छ ।
    नोट :– गर्न न हुने कुराहरु
    – बिरामीको नाक थुनि दिनु
    – मुखमा पानी हाल्नु
    – जुत्ता सुंघाउनु ।
    – मुखमा चम्चा वा औला हाल्नु इत्यादि ।